जापानमा बस दुर्घटना, १६ नेपाली घाईते

by

in

जापानको फुकुओका शहरमा बिहीबार बस दुर्घटनाहुँदा १६ जना नेपाली घाईते भएका छन् । जनवरी २५ तारिख बिहान दक्षिणपश्चिम जापानमा एउटा मिनीबस टेलिफोनको पोलमा ठोक्किँदा १९ यात्रु र बसका चालक घाईते भएका छन् ।

जसमा १८ विदेशी नागरिक भएको र त्यस मध्ये १६ जना नेपाली रहेको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् । घाइते हुनेमा चालक र अर्का एक जापानी तथा दुई जना फिलिपिनो नागरिक रहेका छन् ।

फुकुओका प्रिफेक्चरको कसुयामा बिहान ६ः३० बजे भएको दुर्घटनापछि १३ महिला र सात पुरुषलाई अस्पताल लगिएको थियो । घाइते मध्ये एक पुरुष र एक महिला सहित तीनजनाको हड्डी भाँचिएको लगायतका गम्भिर चोट लागेको बताइएको छ । यद्यपी ज्यान जोखिममा भने नरहेको बताइएको छ ।

बस दुर्घटनाका ६० बर्षिय चालकले उनी निदाएको र अर्को गाडीबाट बच्न अचानक बसलाई घुमाउँदा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको बताएका छन् ।

प्रहरीले लापरवाहीले सवारी चलाउँदा दुर्घटना तथा चोटपटक भएको जस्ता अभियोग सहित अनुसन्धान भइरहेको बताएको छ ।

उक्त मिनीबस फुकुओका विमानस्थलबाट करिब दुई किलोमिटर उत्तरपूर्वमा एउटा खाद्य प्रशोधन केन्द्रतर्फ जाँदै गर्दा सो सडकमा दुर्घटना भएको थियो ।

घाईते अधिकाशं नेपाली विद्यार्थी तथा पारिवारिक भिषामा रहेकाहरु पाइएको छ । बेन्तो कम्पनीको बसमा काममा जाँदै गर्दा बस दुर्घटनामा परेको र दुर्घटनापछि बिहिबार साँझनै अधिकाशं नेपालीहरु सामान्य उपचारपछि घर फर्किएको र ५ जना भने अस्पताल भर्ना भएर उपचार गराइरहेको प्राप्त जानकारीमा उल्लेख छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *