घ्यू तताउँदा उम्किएको आगोले ४४ लाखको क्षति

by

in

ताप्लेजुङ — नौनी घ्यू तताउने क्रममा उम्किएको आगोले मेरिङदेन गाउँपालिका-६, नाल्बुमा एक घर जलेको छ । कर्णबहादुर नाल्वोको तीन तले घर जल्दा ४४ लाख मुल्य बरावरको क्षति भएको वडाध्यक्ष मनोज कुमार तुम्वाहाम्फेले जानकारी दिए ।

घ्यू तताउँदा उम्किएको आगोले ४४ लाखको क्षति

पान्दोलुङ माध्यमिक विद्यालय नजिकै रहेको घरमा बिहीबार दिउँसो १:३० बजेको समयमा आगलागी भएको थियो । सुरुमा सानो देखेर सबैजना आगो निभाउन लागेपनि नियन्त्रणमा लिन नसक्दा घरको सम्पुर्ण सामान जलेको वडाध्यक्ष तुम्वाहाम्फेले बताए ।

‘दाउरा बालेर अगेनामा नौनी घ्यू बसाएर काकी बाहिर निष्कनुभएछ,’ वडाध्यक्ष तुम्वाहाम्फेले भने, ‘घ्यू उम्लिएर पोखिएर अगेनामा परेर आगोले ठुलो रुप लियो । सर्वस्व जल्यो।’ एकतला पक्की रहेको घरको माथिल्लो तलामा भने काठ र टिन लगाइएको थियो । बिक्री गर्न तयार पारिएको अलैंची लगायतका सामग्री जलेको गाउँपालिकाले जनाएको छ ।

बाक्लो बस्ती रहेको यहाँका बासिन्दाको बाक्लो उपस्थितिले अन्य घर भने जोगाएका थिए ।