साँखका दिदी बहिनी दुई साता देखि सम्पर्क विहीन !

by

in

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँख गाउँका दुई दिदी बहिनी दुई साता देखि सम्पर्क विहीन भएका छन् । साँख डामडाँडाका एक घरका दुई दिदी बहिनी गत पौष २४ गते देखि सम्पर्क विहीन भएका हुन् । १३ बर्सिया दिदी विमला पुन र ११ बर्सिया बहिनी आरोही पुन घरबाटै सम्पर्क विहीन भएको बताइएको छ । उनीहरू पौष २४ गते साँझ घरबाट कापी, किताब, लत्ता कपडा र पैसा लिएर निस्किएको उनीहरूका ठुलो बुवाका छोरा हरि पुनले जानकारी दिनुभयो ।

घरमा कसैलाई जानकारी नदिएर करिब ३० हजार पैसा, कापी, किताब र लत्ता कपडा लिएर दिदी बहिनी सम्पर्क विहीन भएको पुनले बताउनुभयो । उनीहरू आजसम्म कहाँ गए भनेर पत्ता लाग्न नसकेको उहाँको भनाई छ । प्रहरीलाई जानकारी गराउने, सामाजिक सञ्जालमा सूचना राख्ने देखि आफन्त र छर छिमेकी सबै तिर खोजी गरिसकिएको तर फेला पार्न नसकिएको उहाँले जानकारी गराउनुभयो ।

उहाँका अनुसार केहीले मुसिकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ को सिमाना ट्याखोलामा केही दिन अघि लागेको मेलामा दिदी बहिनीलाई देखेको भनेको र केहीले अन्य ठाउँमा समेत देखेको भने पनि उनीहरूको अवस्था बारे हालसम्म स्पष्ट हुन सकेको छैन । उनीहरू बाजे बजैसँग बस्दै आएका थिए । उनीहरूका बुवा भने काठमाडौँमा बस्दै आउनुभएको छ । उनीहरूलाई कतै फेला पारेमा नजिकको प्रहरी वा मोबाइल नम्बर ९८६४३६०५८५ मा सम्पर्क गर्न परिवारजनले आग्रह गरेका छन् ।