अर्कै पुरुषलाई कोठामा ल्याएको झोकमा ५१ वर्षीया प्रेमिकाको हत्या

by

in

काठमाडौंको शोभाभगवतीस्थित एक घरमा हत्या भएको तीन महिनापछि शव भेटिएको छ। गत शुक्रबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित दुइ तले घरको भुइँ तलामा एक जना महिलाको शव भेटिएको थियो । तनहुँको भिमाद नगरपालिकाकी ५१ वर्षीया सफिना मियाको तीन महिनाअघि नै हत्या भए पनि माघ ३ गते मात्रै शव भेटिएको थियो ।

लामो समयसम्म डेरामा बस्ने मान्छे देखा नपरेपछि घरबेटी सरिता गिरीले माघ ३ गते स्थानीयलाई बोलाएर कोठा खोलेर हेरेकी थिइन्। उक्त डेरामा बस्ने महिलाको शव खाटमुनि भेटिएको थियो। तर सोही फ्ल्याटमा बस्ने भारतीय नागरिक भने फरार थिए।

६ वर्षदेखि त्यही घरमा डेरा बस्दै आएकी महिला पछिल्लो एक वर्षदेखि भारतको दरभंगा जिल्ला बिहार प्रदेश लालबाग थाना घर भएका ४३ वर्षका इकरामुल हक अन्सारीसँग प्रेममा थिइन ।

मृतक मिया र अन्सारी दुबै जना विवाहित हुन् । उनीहरू छुट्टिएर काठमाडौंमा बस्दै आएका थिए। आमा भारतीय नागरिकसँग प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि मृतक मिया छोराछोरीले भने डेरा छाडेका थिए । उनीहरु पोखरा गएका थिए।

प्रहरीका अनुसार अन्सारीले आफूसँग सम्बन्धमा रहेकी महिलाले अरु पनि पुरुषलाई कोठामा ल्याएको थाहा पाएपछि हत्या गरेको बताएका छन्।

घटना कात्तिक पहिलो साता भएको हो। हत्‍या भएको यकिन मिति भने खुलिसकेको छैन। इकरामउल र सफिनाबीच पछिल्लो समय विवाद भइरहन्थ्यो।

घटनाको दिन पनि अन्सारी रक्सी खाएर फर्किएका थिए। त्यसक्रममा उनीहरूको झगडा भएको थियो। तर राति झ्यालमा लगाउने आग्लोले हानेर उनले महिलाको हत्या गरेका थिए।

हत्या गरेर शव खाटमुनी फालिदिएको प्रहरीले बताएको छ। । हत्‍यापछि डरले इकरामउल घरमा ताला लगाएर हिँडेका थिए। उनले घरको चाबी पनि झाडीमा फालेर बल्खु गएका थिए। प्रहरीका अनुसार घटना लगतै उनी बल्खु पुगेर टाटासुमो चढेर वीरगञ्ज पुगे। रक्सौल नाकाबाट भारत भागेका थिए।

तर उनी दुई महिना भारत बसेर पुनः नेपाल फर्किए। नेपाल फर्किएपछि पनि उनी कालीमाटीमा गार्मेन्ट उद्योगमा काम गर्दै आएका थिए। तर पहिलेको डेरामा फर्किएनन्।

प्रहरीले भने सुरुमै उनले हत्या गरेको आशंकामा खोजी गरिरहेको थियो । त्यसैक्रममा उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सार्वजनिक गरेको हो।