लापरवाही ढंगले कार चलाएर दुई युवतीको ज्यान लिने मानबहादुर बानिया कारागार चलान

by

in

पोखरा, २२ पुस । लापरवाही ढंगले कार चलाएर दुई युवतीको ज्यान लिने मानबहादुर बानिया पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीमा आइतबार भएको थुनछेक बहसका क्रममा कारचालक बानियालाई न्यायाधीश ऋषिराम आचार्यको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

गत मंसिर २४ गते आइतबार दिउँसो ४ बजेर १५ मिनेट जाँदा पृथ्वीराजमार्ग अन्तर्गत लेखनाथको सुन्दरीबजारमा कार चालक मानबहादुरले विपरित दिशाबाट आईरहेको स्कुटरलाई ठक्कर दिदाँ दुई युवतीको ज्यान गएको थियो । सो दुर्घटनामा गण्डकी मेडिकल कलेजमा अध्ययनरत पोखरा–५, जिरोकिमीकी २४ वर्षीया भावना बराल र पोखरा–२५, हेमजाकी २३ वर्षीया अनिशा खड्काको मृत्यु भएको थियो ।

लापरवाही ढंगले बिएए ००४१ नम्बरको कार हाँकेका बानियाले विपरित साईडबाट आईरहेको स्कुटीलाई गत मंसिर २४ गते दिउँसो ४ बजेर १५ मिनेट जाँदा ठक्कर दिएका थिए । प्रत्यक्षदर्शीका अनुसार अर्घौं निवासी कार चालक बानियाले अनियन्त्रित ढंगले कार हाँक्दैं विपरित दिशामा पुगेर स्कुटरलाई ठक्कर दिदाँ सो दुर्घटना भएको थियो ।