फेसबूकमा चिनजान भएको युवकसँग भारत जान लागेकी ५ बालिकाको वीरगञ्जबाट उद्धार

by

in

वीरगञ्ज । घरबाट हराएका पाँच जना बालिकाहरूलाई नेपाल भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।

बारा करैयामाई गाउँपालिका-१ हरैया गाउँबाट असोज २२ गते हराएका पाँच जना बालिकाहरूलाई प्रहरीले एक भारतीय युवकका साथ नेपाल भारत सीमाबाट उद्धार गरेको हो ।

उद्धार गरिएका बालिकामध्ये एक जना १३ वर्षको, १४ वर्षका दुई जना र १६ वर्षका दुई जना रहेका छन् । उनीहरू सबै एउटै विद्यालयमा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले बताए ।उद्धार गरिएका बालिकाहरूलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ भने भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । मोतिहारी, पूर्वी चम्पारण, थाना ढाका, बिक्रमपुर गाउँ घर बताउने वर्ष अन्दाजी १८ को कवि कुमार पाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालिकाहरूले योजनाबद्ध तरिकाले नै आफ्ना लुगाफाटा र भएको नगद लिएर घरबाट हिँडेका थिए ।

उद्धार गरिएका बालिकाहरूसँग अभिभावकले कुराकानी गर्ने क्रममा उक्त भारतीय युवकसँग सामाजिक सञ्जाल फेसबूकबाट चिनजान भएको बताएका छन् ।

करैयामाई गाउँपालिका-१ का वडाध्यक्ष सोनालाल साह तेलीका अनुसार बालिकाहरू असोज २२ गते बिहान साढे ३ बजे घरबाट भागेका थिए । अभिभावकले बिहानैदेखि खोजतलास गर्दा पनि नभेटिएपछि भोलिपल्ट बेलुका प्रहरीमा खबर गरेका थिए ।

हराएका मध्ये एक बालिकाको मोबाइल लोकेसन ट्र्याक गर्दा उनीहरू वीरगञ्ज महानगरपालिका – १० आदर्शनगर एरियामा देखाएको थियो । त्यसपछि प्रहरीले उक्त क्षेत्रमा खोजतलास गर्दा भारतको रक्सौल तर्फ गइरहेका बालिकाहरूलाई सोही स्थानमा रहेको रानीसती धर्मशाला नजिकैबाट उद्धार गरिएको थियो ।

मानव बेचबिखनको लागि बालिकाहरूलाई भारततर्फ लैजान खोजेको आशङ्कामा पक्राउ परेका युवकउपर अनुसन्धान सुरु भएको डिएसपी न्यौपानेले बताए । बालिकाहरू उज्ज्वल भविष्यको कामना गर्दै घर छाडेर हिँडेको बताइएको छ ।