खुशीको खबर: जर्मनीमा नेपाली कामदार पठाउन मिल्ने भएकाे छ !!

by

in

खुशीको खबर: जर्मनीमा नेपाली कामदार पठाउन मिल्ने भएकाे छ

काठमाडौं । जर्मनीमा नेपाली कामदार पठाउन मिल्ने भएकाे छ । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै नेपालीलाई रोजगारीका लागि पठाउने बाटो खुलेको हो । नेपालबाट प्रशिक्षार्थी कामदार लगेर जर्मनीले एक वर्षसम्म तालिम दिनेछ । काममा दक्ष बनाएपछि निश्चित मापदण्ड पूरा गरेकालाई मात्रै ‘जब मार्केट’मा पठाउनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जर्मनीका श्रम तथा सामाजिक मामिला राज्यमन्त्री लियोनी गेवर्सको उपस्थितिमा गत मंगलबार जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको रोजगारी विभागका अन्तर्राष्ट्रिय मामिला निर्देशक माइकल भान डेर क्यामेनले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

त्यसअघि दुवै देशका प्रतिनिधिमण्डलबिच भएको वार्तामा दक्ष नेपाली जनशक्तिलाई रोजगारीका अवसर उपलब्ध गराउने, वैधानिक तवरबाट मात्र उनीहरूलाई काममा लगाउने, नेपाली कामदारको हकहितको रक्षा र भाषा तथा व्यावसायिक तालिम दिने विषयमा पनि छलफल भएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव राजीव पोखरेलले जर्मनी जान कम्तीमा तीन महिनाको प्रक्रिया लाग्ने बताए । जर्मनीसँगको यो सम्झौता प्रारम्भिक चरणको हो । हाल जर्मनीमा करिब ८ हजारको हाराहारीमा नेपाली छन् ।

त्यहाँ गएका ट्रेनीहरूलाई खान, बस्न लगायतका सबै सुविधा हुनेछ । त्यसका साथै मासिक २ हजार युरो (दुई लाख ८२ हजारभन्दा बढी) तलब पनि हुनेछ । त्यस्तै, जर्मनीका नागरिकसरह अन्य सेवा सुविधासमेत पाउनेछन् । पछिल्लो समय कोरोना महामारीपछि युरोपमा धेरै कामदारको माग हुँदै आएको छ । त्यही आधारमा धेरै नेपाली व्यक्तिगत श्रम स्वीकृति लिएर रोमानिया, पोर्चुगल, पोल्यान्डलगायत देशमा जाने गरेका छन् ।

सरकारले यसलाई नयाँ प्रकृतिको सम्झौता भनेको छ । ‘नयाँ प्रकृतिको श्रम समझदारी हो । प्रशिक्षार्थी कामदार लैजाने खालको सम्झौता हो । यो चाही फस्ट स्टेप हो । यसबाट हामीले धेरै कुरा सिक्छौँ । त्यहाँ सिकेर काम गरेर आएको जनशक्तिले नेपालमा धेरै काम गर्न सक्छन् भन्ने हाम्रो अपेक्षा हो,’ सहसचिव पोखरेलले बताए ।