कोहलपुरका युवकको साउदीमा मृत्यु, शव ल्याइदिन परिवारको हारगुहार

by

in

बाँके ।

वैदेशिक रोजगारीका लागि साउदी अरब गएका कोहलपुर–१२ का २८ वर्षीय एक युवकको मृत्यु भएको छ । साउदी अरबको अफनिया भन्ने स्थानमा सुरेश चौधरीको साउन १३ गते राति मृत्यु भएको हो । कामबाट आएर कोठामा खाना खाएपछि सुतेका चौधरी सुतेकै स्थानमा मृत फेला परेका थिए ।

‘भाइको सुतेकै स्थानमा मृत्यु भएको भन्दै उसकै साथिबाट हामीले साउन १४ गते खबर पाएका थियौं,’ मृतकका दाइ श्रवणकुमार चौधरीले मिसन टुडेसँग भने, ‘के कारणको मृत्यु भएको हो, हामीलाई केही थाहा छैन । त्यसपछि साउदीमा के भएको छ । हामीले केही खबर पाएका छैनौं ।’

तत्काल सुरेशको शवलाई घरसम्म ल्याइदिनको लागि परिवारका सदस्यले कोहलपुर नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा निवेदन दिएका छन् ।

सुरेशको शवलाई घरसम्म ल्याउनको लागि पहल सुरू भइसकेको रोजगार केन्द्रका संयोजक जंगबहादुर बिसीले जानकारी दिए । ‘उहाँहरूले दिनुभएको निवेदन वैदेशिक रोजगार बोर्डबाट स्विकृत भएर साउदीको नेपाली दूतावाससम्म पुगिसकेको छ,’ उनले मिसन टुडेसँग भने, ‘त्यहाँको नेपाली दूतावासले शव नेपाल पठाउनको लागि स्थानीय प्रहरीसँग समन्वय गरिरहेको छ ।’

साउदीको प्रहरीले अनुसन्धान सकाएपछि मात्र मृतक सुरेशको शव नेपाली दूतावास हुँदै नेपाल आउने संयोजक बिसीले बताए ।

‘ठ्याकै कहिले आउँछ भन्न सकिन्न । त्यहाँको प्रहरी अनुसन्धान सकाएपछि शव दूतावासलाई दिन्छ । प्राकृतिक मृत्यु भएकाहरूको शव केही छिटो आउँछ,’ उनले भने, ‘हत्या, आत्महत्याको हकमा भने प्रहरीले अनुसन्धान गर्न समय लगाउने भएकोले केही बढी समय लाग्नसक्छ ।’

मृतक सुरेशको शव निःशूल्करूपमा नै घरसम्म आइपुग्ने संयोजक बिसीले मिसन टुडेलाई जानकारी दिए । परिवारका सदस्यहरूले समेत शवलाई चाँडो घरसम्म ल्याइदिन सबैलाई आग्रह गरेका छन् ।