यहि ठाउमा गाडिएको छ रुसमा ज्यान गुमाएका रूपकको शव

by

in

दशैं मनाउन कपिलवस्तुको बाणगंगा नगरपालिका-१, मन्द्रेली टोलमा माइत आएकी थिइन्, सरला थापा। गाउँकै तीन व्यक्ति घरमै आएर रसिया-युक्रेन युद्धमा उनका एक मात्र भाइ रूपक कार्कीको मृत्यु भएको खबर दिए। दुई वर्षअघि २२ वर्षको उमेरमा स्टुडेन्ट भिसामा रूस गएको भाइ अघिल्लो वर्ष त्यहाँको सेनामा भर्ती भएको सुनेकी थिइन्। तर मृत्यु भएको कुरा उनले केही गर्दा पनि पत्याइनन्।

उनी भन्छिन्, “भाइले तीन-चार महीनाअघि फोन गरेर ६ महीनाका लागि तालीममा जानुपर्ने भयो, त्यति वेलासम्म फोन नलाग्न सक्छ, तालीम सकिएपछि फोन गर्छु भनेको थियो। ६ महीना अझै भएकै छैन।”

कात्तिकको दोस्रो साता रूपकको मृत्युको सूचना लिएर जानेमा वडा सदस्यहरू राजकुमार थारू, लक्ष्मी खत्री र टोपकला बीसी थिए। उनको घरमा मृत्युको खबर पुर्‍याउने दोस्रो प्रयास थियो त्यो।

कार्की परिवारका छिमेकी समेत रहेका वडा सदस्य थारू त्यसअघि पनि छोरो मारिएको खबर लिएर रूपकका बुबा मनबहादुर कार्की र आमा लक्ष्मीलाई भेट्न घरमै पुगेका थिए। “त्यति वेला पनि उहाँहरू छोरा मारिएको कुरा मान्न तयार हुनुभएन। तालीमबाट फर्किएपछि छोराले फोन गर्छ भनेर ढुक्क देखिनुहुन्थ्यो,” थारू भन्छन्, “काठमाडौंबाट आएको एउटा फोनको आधारमा मैले उहाँहरूलाई त्यो सूचना दिएको थिएँ। रूपकको मृत्यु पुष्टि गर्ने अर्को सूचना हामीसँग थिएन। त्यसैले पनि उहाँहरूलाई मृत्यु स्विकार्न गाह्रो भइरहेको थियो।”

त्यसअघि वडा सदस्य राजकुमार थारू र बाणगंगा-१ का वडाध्यक्ष सन्जुकुमार सारू मगरलाई काठमाडौंबाट एक व्यक्तिले फोन गरेर रूस-युक्रेन युद्धमा रूपक कार्कीको मृत्यु भएको र यो सूचना रूपकका बुबाआमालाई पुर्‍याइदिन आग्रह गरेका थिए। शव आउने-नआउनेबारे आफूलाई थाहा नभएको पनि ती व्यक्तिले बताएका थिए। वडाध्यक्ष मगरका अनुसार फोन सम्पर्क गरेका व्यक्तिले आफूलाई रूसी राजदूतावासको व्यक्ति भनेर चिनाएका थिए। तर फोन सम्पर्कपछि ‘ट्रू कलर’ मा हेर्दा उक्त फोन नम्बर कुनै वैदेशिक रोजगार कम्पनीको देखियो। “हामीले फेरि सम्पर्क गर्ने प्रयास गरिरह्यौं, कसै गरे पनि सम्पर्क हुन सकेन,” वडाध्यक्ष मगर भन्छन्, “त्यही अपुष्ट खबर लिएर वडा सदस्य रूपकको घर जानुभएको थियो।”

काठमाडौंबाट आएको फोनका आधारमा रूपकको मृत्यु भइसकेको अपुष्ट खबर एक महीनायता गाउँमा फैलिइसकेको थियो। सोमबार परराष्ट्र मन्त्रालयले निकालेको प्रेस विज्ञप्तिले भने त्यसको पुष्टि गर्‍यो। रूसी सेनामा रहेका ६ नेपालीको निधन भएको भन्दै मन्त्रालयले निकालेको प्रेस विज्ञप्तिमा रूपकको नाम दोस्रो नम्बरमा छ। रूसी सेनामा कार्यरत रहँदा उनीसँगै गोरखाका सन्दीप थपलिया, पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका-५ का पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका-६ का राजकुमार रोका र इलाम नगरपालिका-५ का गंगाराज मोक्तानको पनि मृत्यु भएको जानकारी मन्त्रालयले गराएको छ। यद्यपि कुन मितिमा र कसरी उनीहरूको निधन भयो, शवको अवस्था कस्तो छ भन्नेबारे मन्त्रालयले केही पनि बताएको छैन।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरिसकेपछि मंगलबार बिहान लुम्बिनीका प्रदेश सांसद विष्णु पन्थी सहित स्थानीय जनप्रतिनिधिहरू र प्रहरी रूपक कार्कीको घर पुगेका थिए। उनीहरूले रूपकका बुबा मनबहादुरलाई भेटेर छोराको मृत्यु भएको पुष्टि भइसकेको जानकारी गराएका थिए। यद्यपि रूसी सेनामा कार्यरत रहँदा मृत्यु भएको भने पनि कहिले र कसरी मृत्यु भएको भन्नेबारे सरकारले थाहा दिन नसक्दा परिवारमा अन्योल छाएको रूपकका काका गौतम कार्की बताउँछन्। “परिवारमा अनिश्चितता छाएको छ। शव नदेखी एक्लो छोराको मृत्यु भएको भन्ने कुरा पत्याइहाल्ने अवस्थामा परिवार छैन,” उनी भन्छन्।

रूपकका बुबाले कुखुरापालन गर्दै आएका छन् भने आमा लक्ष्मी स्थानीय लघुवित्त वित्तीय संस्थामा कार्यालय सहयोगीका रूपमा काम गर्छिन्। एक मात्र दिदी सरलाको विवाह भइसकेको छ।

परिवारका सदस्यहरूका अनुसार नेपालमा छँदा रूपक दक्षिण कोरिया जाने भनेर लामो समयदेखि भाषा सिकिरहेका थिए। विद्यार्थी भिसामा सजिलै रूस जान पाइने थाहा पाएपछि २०७८ चैतदेखि रूपक र उनका छिमेकी दाइ युवराज पौडेलले एकै पटक प्रक्रिया थालेका थिए। स्थानीय तहको चुनाव सकिए लगत्तै काठमाडौंको एक वैदेशिक रोजगार कम्पनी मार्फत २०७९ जेठमा रूस पुगेका थिए। त्यसको एक वर्षपछि २०८० जेठ २५ गते रूसको रक्षा मन्त्रालयसँग सहमति गरी रूपकले विशेष सैन्य कारबाही (एसएमओ वा एसभीओ)मा भाग लिएका थिए। रूसी सरकार र युद्धका समर्थकले २०२२ मा रूसले युक्रेनमाथि गरेको हमलालाई एसएमओ वा एसभीओ भन्ने गरेका छन्।

रूपकसँगै गएका युवराज पनि रूसी सेनामा भर्ती भएका थिए। उनी भने परिवारसँग नियमित सम्पर्कमा छन्।इभानोभो क्षेत्रको स्मृति पुस्तक नामको रूसी वेबसाइटका अनुसार रूपक कार्कीको मृत्यु ३० जून २०२३ (२०८० असार १५) मा भइसकेको थियो। उनी रूसी सेनाका तर्फबाट विशेष सैन्य कारबाहीमा सहभागी भई युक्रेनको युद्धस्थलमा खटिएका वेला मारिएको वेबसाइटमा उल्लेख छ।

रूसको राजधानी मस्कोभन्दा करीब ३२४ किलोमिटर उत्तर-पूर्वमा रहेको इभानोभो क्षेत्रबाट सञ्चालित यो वेबसाइटले आफ्नो मुख्य काम ‘स्मृतिलाई सुरक्षित राख्नु र इभानोभो योद्धाहरू र तिनका सैन्य साथीहरूका बारेमा जानकारी व्यवस्थित गर्नु’ भनेर लेखेको छ। वेबसाइटका अनुसार उनलाई इभानोभो क्षेत्रको नोभो-तालित्स्कीमा गाडिएको छ। समाधिस्थलमा उनको जन्ममिति २४ जुलाई १९९९ (२०५६ साउन ८) लेखिएको छ। राष्ट्रियता लेखिएको छैन। इभानोभो रूसको एक प्रशासनिक केन्द्र हो।

अर्को समाचार वेबसाइट कर्सिब डट आरयूले इभानोभो क्षेत्रको स्मृति पुस्तकलाई उद्धृत गर्दै रूपक कार्कीसँगै सन्दीप थपलिया (नेपाली नागरिक) र पीगा वितेनावी (राष्ट्रियता नखुलेको)लाई गाडिएको बताएको छ। परराष्ट्र मन्त्रालयको मंगलबारको विज्ञप्तिमा मृत्यु हुनेहरूमा सन्दीप थपलियाको नाम पहिलो नम्बरमा छ।

इभानोभो क्षेत्रको स्मृति पुस्तक अनुसार सन्दीप पनि एसएमओका सदस्यका रूपमा युक्रेनमा थिए। स्मृति पुस्तकले उनको राष्ट्रियता नेपाली भनेको छ। १० जनवरी १९९३ (२०४९ पुस २६) गते जन्मिएका उनी २८ जून २०२३ (२०८० असार १३)मा ‘कम्ब्याट मिसन’ का क्रममा मारिएका उक्त वेबसाइटमा उल्लेख छ।