दशैको मुखमा दु:खद खबर : पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

by

in

दशैको मुखमा निकै दु:खद खबर प्राप्त भएको छ ।

पाल्पाको रानीमहल नजिकै गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो तानसेनबाट रानीमहल जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जिप दुर्घटनामा परेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परेकाहरू तीन जना महिला, दुई बालबालिका र एक पुरूष रहेका छन् ।

दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन्। घाइतेको उद्धार गरी उपचारको लागि अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक राजकुमार चापागाईले जानकारी दिएका छन्।

घटनास्थल रानीमहल दरबारदेखि डेढ किलोमिटरको दुरीमा छ। तानसेन नगरपालिका अन्तर्गत पर्ने बैकुण्ठभिरबाट दुर्घटनामा परेको उक्त जिप सडकदेखि ७० मिटर भन्दा तल छांगोमा खसेको प्रहरी नायब निरीक्षक चापागाईले जानकारी दिए।

घटनास्थल अत्यन्त अप्ठ्यारो स्थानमा रहेको र दुर्घटनामा परेकाहरुको उद्धार गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ। मृतकहरू ६५ वर्षीय कृष्णबहादुर लोहनी, ५५ वर्षीय चुना धिताल, ३५ वर्षीय सविना धिताल, ५५ वर्षीय पार्वती लोहनी, ११ वर्षीय सोविस लोहनी र साढे २ वर्षका अर्का एक बालक रहेको प्रहरीले जनाएको छ।