श्रीमतीले खाना पकाउने भाँडो प्रहार गर्दा श्रीमानको गयो ज्यान !

by

in

दैलेख । दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी श्रीमती सीता योगीले भाँडा प्रहार गरेपछि चोट लाग्न गई उनको मृत्यु भएको हो ।

श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भड्डु प्रहार गरेको उनको भनाई छ । सीतालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ ।

लम्सालले रातोपाटीसँग भने, ‘भड्डुमा ढिँडो पकाएको रहेछ । भीमले पहिला हात छाडेका रहेछन्, त्यसपछि श्रीमतीले पनि त्यही भाँडाले हिर्काएछिन् । टाउकोमा चोट लागेर धेरै रगत बगेपछि भीमको मृत्यु भयो।’

श्रीमतीको पनि मुखमा निलडाम रहेको डीएसपी लम्सालले बताए । प्रहरीले राति नै शव दैलेख अस्पताल पुर्‍याएको र सीतालाई पक्राउ गरेको जनाएको छ ।

दुवै जनाले मदिरा सेवन गरेकाले के कारण विवाद भयो भन्ने थाहा नभएको नौमुले गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रलाल बस्नेतले बताए ।