यसरी लिनुस् बैंकबाट बिनाधितो सस्तो ब्याजदरमा ऋण !!

by

in

काठमाडौं । कुनै पनि उद्यम, व्यापार व्यवसाय शुरु गर्ने आफुसँग पर्याप्त पुँजी नहुँदा बैंक तथा वित्तीय संस्था हामी कर्जा सापटीका लागि पुग्छौं ।तर बैंक तथा वित्तीय संस्थाले कर्जा दिँदा ग्राहकसँग खोज्ने पहिलो प्रश्न हो तपाईंसँग धितो के छ ?

नेपालमा राम्रो व्यवसायीक योजना भएका तर पुँजी र बैंकमा कर्जा लिनका लागि धितो नभएका कयौँ युवाहरु छन् । जो यस्तै समस्याका कारणले सीप क्षमता भएर पनि पुँजीको अभावमा स्वदेशमा नै केही गर्न नसकेर विदेश पलायन हुन बाध्य भएका छन् । सरकारले यस्तै समस्याको सावधान गर्दै स्वदेशमा नै उद्यमशीलता तथा स्वरोजगार बढाउन सहयोग गर्ने उदेश्यले हरेक वर्ष विभिन्न कार्यक्रमहरु घोषणा गरिरहेको हुन्छ ।स्वदेशमा नै उद्यमशीलता तथा स्वरोजगार बढाउने उदेश्यले सरकारले २ वर्षअघि ब्याज अनुदानमा बिनाधितो सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालनमा गरिरहेको छ ।

सरकारको निर्देशनमा राष्ट्र बैंकले २०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधि जारी गरेको थियो । ब्याज अनुदानका सहुलियतपूर्ण कर्जा अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी, महिला उद्यमी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, दलित समुदाय व्यवसाय विकास, उच्च र प्रविधिक शिक्षा भुकम्प पिडितको निजी आवास निर्माण, कपडा उद्योग संचालन र सीटीइभीटी तालिमको लागि गरी ९ शिर्षकमा सहुलियतपूर्ण कर्जा बैंक तथा वित्तीय संस्थाबाट ग्राहकले लिन सक्ने व्यवस्था गरिएको छ ।

जसमध्ये व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, कपडा उद्योग संचालनबाहेक सबै कर्जा बैंक तथा वित्तीय संस्थाले बिनाधितो व्यवसायीक परियोजनाको आधारमा ब्याज अनुदानमा कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था गरिएको छ ।
के हो ब्याज अनुदानमा पाइने सहुलियतपूर्ण कर्जा ?
बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जामा नेपाल सरकारबाट ब्याज अनुदान सुविधा उपलब्ध हुने गरी प्रवाह हुने कर्जानै सहुलियतपुर्ण कर्जा हो ।

जसमा बैंक तथा वित्तीय संस्थाले ग्राहकको माग अनुसारको व्यवसायीक परियोजना मूल्यांकन गरी सोहीको आधारमा बिनाधितो ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा प्रदान गर्दछन् ।
यस्तो कर्जा कर्जाको प्रकारका मापदण्ड पुरा भएका १८ वर्षदेखि व्यक्तिले उपयोग गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । कसरी लिन सकिन्छ बिना धितो ब्याज अनुदानमा सहुलिय कर्जा ?

सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रत्येक वाणिज्य बैंकका शाखाले न्यूनतम १० जना र विकास बैंकका शाखाले ५ जनालाई अनिवार्य रुपमा सहुलियत दरको कर्जा दिनुपर्ने व्यवस्था गरेको छ । साथै, राष्ट्र बैंकले समेत २०७८ असार मसान्तसम्म प्रत्येक वाणिज्य बैंकले ५०० जना, विकास बैंकले २०० जना र फाइनान्स कम्पनीले १०० जनालाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नु पर्ने उल्लेख गरेको छ ।

कर्जा लिन आवश्यक कागजात के के हुन् ?
राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था सबैले यस्तो प्रकारको कर्जा वितरण गरिरहेका छन् । यस्तो कर्जा लिन इच्छुक व्यक्तिले निम्नानुसारको कागजात तथा प्रक्रिया पुर्याउनु पर्छ ।
१. कर्जा लिने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको विधिवतरुपमा भरिएको कर्जा आवेदन फारम
२. कानुन बमोजिम दर्ता भएको व्यवसाय तथा स्थायी लेखा-प्यान) नम्बरको प्रतिलिपि

३. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
४. कर्जा लिएर शुरु गरिने वा हाल सञ्चालनमा रहेको उद्यमको विवरण ।
५. कर्जा उपयोगको संक्षिप्त विवरण, महिला उद्यमशीलता कर्जा बाहेक १० लाख रुपैयाँभन्दा बढीको कर्जाको हकमा विस्तृत परियोजना प्रस्ताव ।
६. कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको स्वःघोषणाको प्रमाणपत्र ।
७. सामूहिक जमानीको हकमा सामूहिक जमानी सम्बन्धी कागजात ।
८. शिक्षित युवा स्वरोजगार कर्जाको हकमा शैक्षिक प्रमाण पत्रको सक्कलप्रति ।

९. सीटीइभीटी प्रमाणपत्रबाट कर्जा लिनुपर्दा सीप विकास तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि ।
१०, वैदेशिक रोजगारीबाट फर्केका युवाको हकमा कर्जा लिन ।
-निवेदक विदेशमा गई कम्तीमा ६ महिना काम गरी फर्किएको र कुनै पनि देशको स्थायी बसोबासको स्वीकृति प्राप्त व्यक्ति (पिआर/ग्रिनकार्ड) नभएको स्वःघोषणा गरिएको प्रमाणपत्र ।

-राहदानीको प्रतिलिपि ।
– प्रवेशाज्ञाको प्रतिलिपि तथा श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केको हकमा सोको प्रतिलिपि ।

११. उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाको हकमा कर्जा लिन ।
-आर्थिकरुपमा विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको सिफारिस ।
-अध्ययन गर्ने शैक्षिक संस्था/प्रतिष्ठानमा भर्ना भएको वा हुन योग्य रहेको खुल्ने कागजातको प्रतिलिपि ।

१२. भूकम्प पीडित कर्जाको हकमा
-निजी आवस निर्माण कर्जाका लागि राष्ट्रि पुननिर्माण प्रधिकरणसँग सम्झौता गरी आर्थिक अभावका कारण हालसम्म आवस निमार्ण गर्ने नसकेको सिफारिस ।
-निर्माण कार्य सम्पन्न गर्न नसकेका भूकम्प पीडितको कागजातको प्रतिलिपि ।
-धितोको हकमा सो सम्बन्धी कागजात ।
बिनाधितो प्रदान गरिने कर्जाको हकमा आवश्यक कागजात

ब्याज अनुदानमा बिनाधितो प्रवाह गरिने कर्जाको हकमा बैंक तथा वित्तीय संस्थाले ऋणीको व्यवसायीक परियोजनालाई नै धितो सुरक्षणको रुपमा राख्ने गर्छ ।कर्जा प्रवाह गर्दा परियोजाको सम्भाव्यतालाई मूल्यांकन गरी सोही आधारमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्छन् ।

आवश्यक कागजात
-शिक्षित युवा कर्जाका शैक्षिक प्रमाणपत्र धितो हुने साथै एकाघर परिवारका सदस्यको व्यक्तिगत जमानी ।
-विदेशबाट फर्किएका युवा कर्जामा ज्ञान, सीपसँग सम्बन्धित व्यवसाय परियोजना धितो हुने ।
-महिला उद्यम कर्जामा एकल तथा सामुहिक जमानीको कागजात ।
-परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवम् प्रवद्र्धनका लागि दलित समुदाय विकास कर्जामा एकल वा सामुहिक जमानीको कागजात ।

सहुलियतपूर्ण कर्जाको मापदण्डअनुसार सबै कागजात पूरा भएपछि ब्याजअनुदानमा कर्जा लिन चाहने व्यक्तिले सम्पुर्ण कागजातसहित सम्बन्धित बैंक तथा वित्तीय संस्थामा निवेदन दिनुपर्छ ।
सम्बन्धित बैंक तथा वित्तीय संस्थाले कर्जाको निवेदन प्राप्त भएको २१ दिनभित्र कर्जा स्वीकृत हुने÷नहुने निर्णण निवेदकलाई जानकारी गराइसक्नु पर्ने हुन्छ ।
यदि कर्जाको निदेशन स्वीकृत नभएमा स्पष्ट आधारण र कारण सहित सम्बन्धित निवेदकलाई लिखित जानकारी बैंक तथा वित्तीय संस्थाले गराउनु पर्ने हुन्छ ।
तर कर्जा स्वीकृत भएपछि जुन प्रयोजनका लागि कर्जा लिइएको हो सोही प्रयोजनमा नै कर्जा उपयोग गरिएको हुन पर्नेछ । यसको निगरानी तथा अनुगमन आवश्यक ठानिएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले गर्नेछ ।

कर्जाको सीमा तथा कर्जा सुरक्षण (धितो)
ब्याज अनुदानमा पाइने सहुलियतपूर्ण कर्जा अन्तरर्गतका व्यवसायीक कृषि तथा पशुपन्छी र कपडा उद्योग बाहेक अन्य कर्जा बिना धितो व्यवसायीक परियोजनाको आधारमा कर्जा उपयोग गर्ने सकिन्छ ।

कृषि तथा पशुपन्छी कर्जा भने बिना धितो व्यवसायीक योजनाको आधारमा पनि बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेका छन् । कृषि तथा पशुपन्छी कर्जाको हकमा १० लाख रुपैयाँसम्म एकाघर परिवारका सदस्यको व्यक्तिगत जमानीको आधारमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्छन् ।
सोभन्दा माथि व्यवसायीक परियोजना धितोमा कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन छ ।
साथै, भूकम्प पीडित निजी आवास निर्माण कर्जाको हकमा समेत धितो भएमा बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृतिको लागि धितो सुरक्षण लिन पाउछन् ।

शिर्षक अनुसारको कर्जाको सीमा
-व्यवसायीक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपैयाँसम्म ।
-शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँसम्म ।
-महिला उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म ।
-दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म ।
-उच्च र प्रविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख रुपैयाँसम्म ।
-भुकम्प पीडितको निजी आवास निर्माण कर्जा ३ लाख रुपैयाँसम्म ।
-कपडा उद्योग सञ्चालनका लागि ५ करोड रुपैयाँसम्म ।
-प्रविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमको लागि २ लाख रुपैयाँसम्म ।
यस्तो कर्जाको भुक्तानी अवधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले व्यवसायको प्रकृतिअनुसार तोक्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कर्जाको ब्याजदर
ब्याज अनुदानमा उपलब्ध हुने कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधारदरमा २ प्रतिशतभन्दा बढी ब्याजदर कायम गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । जसमा बैंक तथा वित्तीय संस्थाले निर्धारण गरेको ब्याजदरमध्ये ५ प्रतिशत अनुदान ऋणीलाई सरकारको तर्फबाट हुनेछ ।

महिला उद्यमशीलता कर्जाको ब्याजदरको हकमा भने यस्तो अनुदान ६ प्रतिशत उपलब्ध हुनेछ । तर, ५ करोड रुपैयाँभन्दा बढी व्यवसायीक कृषि तथा पशुपन्छी कर्जामा २ प्रतिशत मात्र ब्याज अनुदानको व्यवस्था गरिएको छ ।
यस्तो प्रकारको कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले कर्जाको बीमा शुल्क र कर्जा सुरक्षण शुल्क बाहेक कुनैपनि प्रकारको थप सेवा शुल्क लिन पाउँदैनन् ।

ऋणीले कर्जा चुक्ता नगरेमा हुने कारर्वाही
-ऋणी कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने ।
-ऋणीको राहदानी रोक्का हुने ।
-ऋणीको नाममा रहेको चल अचल सम्पती बिक्री गर्न रोक्का हुने ।
-ऋणीको नाममा रहेको सम्पूर्ण बैंक खाता रोक्का हुने ।
-सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता लगायत अन्य नागरिक सेवा सुविधाबाट बञ्चित हुने ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *