चार जना ‘भष्ट्राचार विरोधी अभियन्ता’ ठगी आरोपमा काठमाण्डौबाट पक्राउ

आफुलाई भष्ट्राचार विरोधी अभियन्ता बताउने ४ जना ठगीको आरोपमा पक्राउ : ‘भ्रष्टाचार विरोधी अभियन्ता हौँ’ भनेर काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा आतंक सिर्जना गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-६ का ३१ वर्षका राजु सुनार, ८ का २६ वर्षीय आदर्श क्षेत्री, १ का २० वर्षीया अस्मिता खत्री र २ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् ।

कर छली गरेको, भ्रष्टाचार गरेको भन्ने उजुरी परेको र त्यस विषयमा छानबिन गर्न आएको यो समूहले ठगी गर्दै आएको प्रहरीको भनाइ छ । सबै हिसाबकिताब देखाऊ भन्दै असम्बन्धित सूचना माग्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्काउने, मुद्दा हालदिन्छु भनी आतंक सृजना गरी भिडिओ बनाई रकम असुल्ने गरेको बताइएको छ ।

त्यसरी खिचिएका सामग्री उनीहरूले युट्युवलगायत सामाजिक सञ्जालमा राखी चरित्र हत्या गरेको भन्दै प्रहरी वृत्त बौद्दमा जाहेरीसमेत परेको थियो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान’ नामक संस्था खोलेर उनीहरू विभिन्न वडामा शाखा समेत विस्तार गरी सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, टोल सुधार एवं उपभोक्ता समितिमा अनुसन्धान गर्न भन्दै जाने गरेका थिए ।